दूरदृष्टि, ध्येय, लक्ष्य र उद्देश्य

दूरदृष्टि, ध्येय, लक्ष्य र उद्देश्य

थारू आयोगको दूरदृष्टि, ध्येय, लक्ष्य र उद्देश्य तथा मूल्य र मान्यताः

vison.jpg 44.05 KB

१.दूरदृष्टिः
थारूसमुदायको हक हितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्दै सबै जात जाती, भाषा भाषी र धर्म–संस्कृतिका बीच सह–कार्य, सह–अस्तित्व र सहिष्णुता कायम गरी सम्मृद्ध नेपाल बनाउने ।
२.ध्येयः
थारू आयोग संवैधानिक तथा कानूनी कार्यादेश अनुरुपको मौलिक हक र विश्वव्यापी मानव अधिकारका सिद्धान्त, मूल्य र मान्यतालाई अंगीकार गर्दै एक स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, सक्रिय र सहयोगी निकायको रुपमा रहनेछ ।
३.लक्ष्यः
समावेशी समानुपातिक सिद्धान्तका आधारमा सामाजिक सद्भाव वृद्धिद्वारा सहकार्य प्रबर्द्धन गर्दै समुन्नति हासिल गरी थारू समुदायको हक अधिकार संरक्षण गर्ने तथा निर्वाध उपभोग गर्न सक्ने स्थिति निर्माण गर्ने ।
४.उद्देश्यः

-आयोगको क्षमता विकास, प्रभावकारिता बृद्धि र संस्थागत सुदृढीकरण गर्ने,

-थारू समुदायसँग सम्बद्ध मौजुदा नीति, कानूनी र संस्थागत व्यवस्थामा सुधार तथा आवश्यकतानुसार नयाँ व्यवस्था गर्नुका साथै कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाई थारू समुदायको हक हितको संरक्षण, सम्बर्द्धन गर्दै सशक्तीकरण गर्नेे,

-थारू समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कला, ज्ञान, सीप, प्रविधि, पुरातात्विक वस्तु तथा स्थलहरु संरक्षण, विकास र व्यवसायीकरण गर्ने,

-प्रभावकारी, वस्तुनिष्ठ र निरन्तर अनुगमन गरी थारू समुदायको हक हित सुनिश्चित गर्ने

-कार्यगत सञ्जाल, साझेदारी र सहयोग विस्तार गर्ने

५.मूल्य मान्यताः थारू समुदायको इतिहास र संस्कृतिको पहिचान, हक हितको संरक्षण र सम्बर्द्धन तथा थारू समुदायको सशक्तीकरण गर्नका लागि संवैधानिक निकायको रुपमा स्थापित यस आयोगले आफ्नो काम, कर्तव्य र अधिकार निर्वाह गर्ने क्रममा निम्न बमोजिमका मूल्य मान्यतालाई पूर्ण पालना गर्नेछः–

५.१ समानता र न्यायः
आयोगले आफ्ना कार्य सम्पादन गर्दा नेपाल भित्र बसोवास गर्ने थारू समुदायका साथै अन्य सवै समुदायलाई उनीहरुको अवस्था र आवश्यकता समेतका आधारमा न्याय र समानताको व्यवहार गर्नेछ । राम्रो अवस्था भएकाले पाउने सेवा सुविधामा नकारात्मक असर नपर्ने गरी अन्य फरक÷कमजोर अवस्था भएकालाई समताका आधारमा सक्षमता र समानता हासिल गराउने आयोगको मान्यता रहने छ ।
५.२ जवाफदेहिताः
आयोगले आफूले सम्पादन गरेका कार्यको सम्बन्धमा नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने, पत्रकार भेटघाट गरी जानकारी गराउने, मुख्य मुख्य कार्यहरुको विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्ने कार्य निरन्तर गरी आफूले सम्पादन गर्ने काम कारवाहीमा पूर्ण जवाफदेही लिनेछ । आफूले तयार गरे गराएका अध्ययन प्रतिवेदन वेबसाइटमा राख्ने तथा सरोकारवालालाई वितरण गर्ने नीति लिइनेछ । संवैधानिक व्यवस्था अनुसार आयोगले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र आफ्नो वार्षिक प्रतिवेदन तयार गरी सम्माननीय राष्ट्रपति समक्ष पेश गर्नेछ ।
५.३ पहुँचको सुनिश्चितताः
आयोगका कार्य, क्रियाकलाप र पदाधिकारी तथा कर्मचारीहरू सरोकारवालाहरुको सहज पहुँचमा रही आवश्यक जानकारी, सूचना तथा अभिलेख संकलन तथा प्रदान गर्न सक्ने व्यवस्था आयोगले मिलाउनेछ । कानून बमोजिम गोप्य राख्नु पर्ने सूचना, जानकारी र अभिलेख बाहेकमा सर्वसाधारण तथा सरोकारवालाले सहज पहुँच प्राप्त गर्न सक्ने अवस्था सिर्जना गर्न आयोगले प्रवक्ता, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरी वेबसाइटमा सार्वजनिकीकरण गर्ने छ । आयोगले सरोकारवालाको गुनासो तथा सुझाव संकलन गर्न शुल्क नलाग्ने टेलिफोन जडान गरी, फ्याक्स, फेसबुक, ट्वीटरको पनि क्रमशः व्यवस्था गर्नेछ । सर्वसाधारणलाई आयोगका पदाधिकारीसँग भेटघाट गर्न तथा सरोकार राख्नका लागि निश्चित समय तोकिने छ । सो समयमा सरोकारवालाले भेटघाट गरी सूचना माग्न तथा दिन सक्नेछन् ।
५.४ निष्पक्षताः
आयोगले आफ्नो कार्यसम्पादन निष्पक्ष भई गर्ने छ । आयोगले लिङ्ग, धर्म, वर्ण, जातजाति, भाषा भाषी, आस्था, विचार, आर्थिक सामाजिक अवस्था, भौगोलिक क्षेत्र आदि कुनै पनि कुराका आधारमा कुनै प्रकारको आग्रह वा पूर्वाग्रह राख्ने वा पक्षपातपूर्ण व्यवहार गर्ने छैन । नेपाल सरकारलाई गर्ने सिफारिश, दिने सुझाव, गर्ने समीक्षा, अनुगमन र मूल्याङ्कन गर्ने गराउने विषय, कार्यक्रम सञ्चालन गर्ने विषय, सहयोग गर्ने विषय, आचारसंहिता बनाई लागू गर्ने र

योजना र कार्यक्रम स्वीकृत गर्ने सम्बन्धी कार्य गर्दा निष्पक्षतालाई आफ्नो मूल्य र मान्यताको रुपमा अंगीकार गर्नेछ ।
५.५ स्वतन्त्रता र स्वायत्तताः
संवैधानिक तथा कानूनी व्यवस्था अनुसार आयोगले पूर्ण रुपमा स्वतन्त्र भई आफ्नो काम कारबाही गर्नेछ । आफ्नो काम, कर्तव्य र अधिकारका सम्बन्धमा कुनै दबाब, प्रलोभन वा पूर्वाग्रह राखी आयोगले कार्य गर्ने गराउने छैन । संवैधानिक दायित्व पूरा गर्दा आयोग स्वतन्त्रता र स्वायत्तताको मूल मर्म अनुरुप कार्य गर्न प्रतिबद्ध रहने छ ।
५.६ पारदर्शिताः
सूचनाको हक सम्बन्धी ऐन कानून तथा प्रचलित अन्य कानूनको अधीनमा रही आयोगले आफ्ना क्रियाकलाप, निर्णय, योजना आदिका वारेमा वेबसाइट, पत्रकार सम्मेलन, सार्वजनिक सुनुवाई, प्रेस विज्ञप्ति आदिका माध्यमले प्रकाशन, प्रसारण गर्नेछ ।
५.७ सहभागिता र समावेशीकरणः
आयोगले चेतनामूलक कार्यक्रम सञ्चालन गर्दा, नेपाल सरकार तथा अन्य निकायलाई नीति कार्यक्रम तथा आवश्यक व्यवस्था सिफारिश गर्दा सरोकारवाला निकाय, थारू समुदाय, बुद्धिजिवी लगायतसँग अन्तरक्रिया छलफल गर्नेछ । छलफल तथा सशक्तीकरणसम्बन्धी कार्यक्रमलाई यथाशक्य समावेशी र प्रतिनिधिमूलक बनाइने छ ।
५.८ विविधताको सम्मानः
थारू समुदाय भित्र र समुदाय बाहिरको विविधतालाई अवसरका रुपमा लिई तिनको यथोचित सम्मान गरिनेछ । यस्तो विविधताको व्यवस्थापन गर्दै थारू समुदायको हक हित र अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्ने नीति लिईनेछ ।